कैलाली । घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल तथा संस्थापक युवराज बमले बुवाको पुण्यतिथिको स्मरणमा रसुवाका बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहतका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
बमले आफ्नो मोबाइल बैंकिङमार्फत उक्त रकम सहयोग गरेका हुन्। बुवाको पुण्यतिथिलाई स्मरण गर्दै विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिने उद्देश्यले सहयोग समर्पण गरेको उनले बताएका छन्।

विपत्तिमा परेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार, राहत र सुरक्षाका लागि आफूले हृदयदेखि प्रार्थना गरेको बताउँदै बमले आफ्नो सहयोग कसैको आँसु पुछ्ने माध्यम बनोस् भन्ने कामना गरेका छन्।

रसुवामा बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग आवश्यक रहेको भन्दै बमले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताएका छन्।

उनले बाढी तथा पहिरोपछि सम्पर्कविहीन रहेका नागरिकहरू सकुशल फेला पर्ने आशा व्यक्त गर्दै तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सरकार, स्थानीय तह, संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।
“बुवा, तपाईंको सम्झनामा गरिएको यो सहयोग कसैको आँसु पुछ्ने माध्यम बनोस्—यही मेरो प्रार्थना हो,” बमले भनेका छन्।
उनले विपत्तिको यस कठिन घडीमा सबैलाई धैर्य, साहस र शक्ति मिलोस् तथा उद्धार तथा राहतमा खटिनुभएका सबै सुरक्षित रहून् भन्दै देश र नागरिकको सुरक्षाका लागि शुभकामना व्यक्त गरेका छन्।





