लम्कीचुहा, कैलाली । लम्कीचुहा नगरपालिकामा तीनवटा सरकारी सवारीसाधन हुँदाहुँदै पनि नगरपालिकाको प्रतिनिधित्व गर्दै थारू कल्याणकारिणी सभामा टीकापुर जानुपर्ने अवस्थामा आफूलाई एउटा गाडीसमेत उपलब्ध हुन नसकेको भन्दै नगर उपप्रमुखले दुःख व्यक्त गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै जनताको प्रतिनिधिका रूपमा जनताको कामका लागि हिँड्दा समेत नगरपालिकासँग भएका सरकारी सवारीसाधन उपलब्ध हुन नसक्नु दुःखद विषय भएको उल्लेख गर्नुभएको हो।
उहाँले फेसबुकमा लेख्नुभएको छ, “लम्कीचुहा नगरपालिकामा ३ वटा सरकारी गाडी हुँदाहुँदै पनि नगरपालिकाको प्रतिनिधित्व गर्दै थारू कल्याणकारिणी सभामा टीकापुर जानुपर्ने अवस्थामा नगर उपप्रमुखका रूपमा मैले कार्यक्रम स्थलसम्म पुग्नका लागि एउटा गाडीसमेत उपलब्ध हुन नसक्नु दुःखद विषय हो।”
उहाँले सरकारी सवारीसाधनको प्रयोगबारे प्रश्न गर्दै थप लेख्नुभएको छ, “जनताको प्रतिनिधि भएर जनताको कामका लागि हिँड्दा पनि यदि नगरपालिकासँग भएको सरकारी सवारीसाधन उपलब्ध हुँदैन भने, ती सवारीसाधन आखिर कसका लागि र कुन प्रयोजनका लागि हुन्?”
नगर उपप्रमुखको उक्त अभिव्यक्तिले नगरपालिकामा रहेका सरकारी सवारीसाधनको प्रयोग तथा व्यवस्थापनबारे प्रश्न उठाएको छ।






