लम्की, कैलाली । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कैलालीको लम्कीचुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ७ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाका सञ्चालक, कर्मचारी तथा संस्थाको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरिएको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाह र महाप्रबन्धक डम्बरबहादुर शाहले जारी गरेको अपिलमार्फत जानकारी गराइएको छ।

संस्थाले भदौ १० गते आएको विनाशकारी विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, बाढी तथा विपत्तिका कारण बेपत्ता भएका आफ्ना प्रियजनको खोजी तथा खबरको प्रतीक्षामा रहेका परिवारजनप्रति किसान सहकारी परिवारले ऐक्यबद्धता जनाएको छ।
विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुर्याउन संस्थाले सबैलाई आह्वान गरेको छ। संस्थाले आफ्नो क्षमता र इच्छाअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरी मानवीय सेवामा हातेमालो गर्न सम्पूर्णमा अनुरोधसमेत गरेको छ।





