खेमराज पाण्डेय, टीकापुर, कैलाली । सत्ती भन्सार कार्यालयले चोरी–पैठारी तथा निकासीको अभियोगमा विभिन्न मितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट दाखिला भएका करिब ८० लाख ३३ हजार रुपैयाँ बराबरका लिलाम गर्न नमिल्ने मालवस्तु नष्ट गरेको छ।
भन्सार कार्यालयका अनुसार मुद्दामा रहेका तथा लिलाम गर्न नमिल्ने सुर्तीजन्य पदार्थअन्तर्गत सुर्ती, बिँडी, गुट्खा, चुरोट, तमाखु र पान मसाला लगायतका सामग्री नष्ट गरिएको हो।

त्यसैगरी उपभोग्य मिति उल्लेख नभएका मिठाई, कुर्कुरे, धान, गहुँ, तरकारीका बीउबिजन, कालो प्लास्टिक झिल्ली, विषादी तथा औषधि, सिद्रा माछा लगायत विभिन्न मालवस्तु पनि नष्ट गरिएको कार्यालयले जनाएको छ।
भन्सार ऐन, २०८२ को दफा ९२(१)(ग) बमोजिम विभिन्न कार्यालयका प्रतिनिधिहरूको रोहबरमा भन्सार कार्यालय परिसरमा खाल्डो खनी नष्ट गर्नुपर्ने प्रकृतिका मालवस्तुहरू सोही खाल्डोमा नष्ट गरिएको हो।
सत्ती भन्सार कार्यालयका कार्यालय प्रमुख नवीन शर्माका अनुसार करिब ८० लाख ३३ हजार रुपैयाँ बराबरका मालवस्तु नष्ट गरिएको हो। कार्यालयले लिलाम गर्न नमिल्ने तथा जनस्वास्थ्य र वातावरणमा असर पार्न सक्ने प्रकृतिका सामग्री कानुनी प्रक्रियाअनुसार नष्ट गरिएको जनाएको छ।





