बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिका स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

माघ २० गतेदेखि बर्दगोरिया गाउँपालिकामा रहेको श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिता माघ २४ गते सम्पन्न भएको हो। प्रतियोगिता बर्दगोरिया गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता मिथुन गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि गौतमले विजयी समूह तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै पदक, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा बोल्दै गौतमले बर्दगोरियामा खेलकुद क्षेत्रको निरन्तर विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पालिकाको खेलकुद विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै आगामी दिनमा यहाँबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। साथै यसै वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा समेत व्यक्त गरे।

प्रतियोगितामा शिल्डतर्फ बसन्त मुरारी नमुना माध्यमिक विद्यालय रिठ्ठेले २८ स्वर्ण पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो। नोबेल माध्यमिक विद्यालय ४ स्वर्ण पदकसहित दोस्रो र बालकन्या माध्यमिक विद्यालय ३ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो।

निम्न माध्यमिक तहमा बालकन्या माध्यमिक विद्यालय ७ स्वर्ण पदकसहित प्रथम, बसन्त मुरारी नमुना माध्यमिक विद्यालय ३ स्वर्ण पदकसहित दोस्रो र जगदम्बिके भगवती माध्यमिक विद्यालय ३ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो।

त्यसैगरी प्राथमिक तहमा न्यू ज्योति आधारभूत विद्यालय २ स्वर्ण पदकसहित प्रथम, मोतिभागिरती आधारभूत विद्यालय २ स्वर्ण पदकसहित दोस्रो र बसन्त मुरारी नमुना माध्यमिक विद्यालय १ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो।

शिल्डतर्फ बसन्त मुरारी नमुना माध्यमिक विद्यालयले लगातार तीन वर्ष जित हासिल गर्दै स्थायी रूपमा शिल्ड कब्जा गरेको छ। शिल्ड जितेपछि विद्यालयका विद्यार्थीहरूले “बसन्त मुरारी हाई हाई” भन्ने नारा लगाउँदै खुसीयाली मनाएका थिए।

पालिकास्तरीय खेलकुद प्रतियोगितामा पालिकाका २८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। बर्दगोरिया गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा भलिबल, कबड्डी, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, दौड, योगा लगायतका खेल समावेश गरिएको थियो।

समापन कार्यक्रम श्री बसन्त मुरारी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति प्रतिनिधि, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

