धनगढी । सुदूरपश्चिमका नागरिकलाई किफायती दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केयरटेकर अस्पताल प्रा.लि. सञ्चालनमा आएको छ।
धनगढीकाे शहीद गेट नजिकै यसअघि स्वस्तिक अस्पताल रहेकाे भवनमै केयरटेकर अस्पताल सञ्चालनमा ल्याइएकाे हाे ।
मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै अस्पतालका अध्यक्ष गोपाल बहादुर शाहीले सेवा सुविधाबारे जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा व्यवसाय मात्रै नभई सेवा, संवेदना र समर्पणको माध्यम भएको बताए। उनले भने, “आज पनि धेरै नागरिक पैसाको अभावमा उपचारबाट वञ्चित भइरहेका छन्। सरकारी अस्पतालमा अत्यधिक भीड छ भने निजी अस्पताल महँगो छ।
यही खाडल पूर्ति गर्न केयरटेकर अस्पताल स्थापना गरेका हौँ। यहाँ सरकारी अस्पताल सरह किफायती शुल्कमा निजीस्तरको सेवा दिनेछौँ।”
अस्पताल १०० शैयाको सुविधा सम्पन्न संरचनासहित सञ्चालनमा आएको छ। यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक मोड्युलर अपरेशन थिएटर, २४ सै घण्टा इमर्जेन्सी सेवा र एम्बुलेन्स सुविधा उपलब्ध रहेको छ।
अस्पतालमा जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी तथा मेरुदण्ड, छाला तथा सौन्दर्य, मुटुरोग, रेडियोलोजी, नाक–कान–घाँटी, डेन्टल केयर, फिजियोथेरापी, ल्याप्रोस्कोपी सर्जरी, युरो सर्जरी, न्युरो सर्जरी लगायत विशेषज्ञ सेवा सञ्चालनमा रहेका छन्। साथै डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड, आधुनिक प्रयोगशाला जस्ता प्रविधि जडान गरिएको अस्पतालले जनाएको छ।
अस्पताल परिसरमा पर्याप्त पार्किङ, हरियाली पार्क, एसी सुविधा र बिरामीमैत्री वातावरण तयार गरिएको छ। अनुभवी तथा दक्ष चिकित्सकबाट सेवा प्रदान भइरहेको र आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शाहीले बताए।
स्वास्थ्य उपचारसँगै अस्पताललाई स्वास्थ्य शिक्षा केन्द्रका रूपमा विकास गर्ने तयारीसमेत गरिएको छ। निकट भविष्यमै नर्सिङ कलेज तथा हेल्थ असिस्टेन्ट (एच.ए.) अध्ययन कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।
साथै भेन्टिलेटरयुक्त एम्बुलेन्स, सीटी स्क्यान मेसिन जडान तथा आईभीएफ, कार्डियो र क्यान्सर विभाग सञ्चालन गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रमसमेत ल्याइनेछ।
अध्यक्ष शाहीले अस्पतालले बिरामीलाई सम्मानजनक व्यवहार, उपचारमा पारदर्शिता र मानव जीवनलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारकर्मीलाई सत्य र सकारात्मक सन्देश समाजसम्म पु¥याउन आग्रह गरे।
उनले अन्त्यमा भने, “हामी पैसाभन्दा पहिले मानव जीवनलाई महत्व दिन्छौँ। सेवा नै हाम्रो धर्म हो।”
केयरटेकर अस्पताल सञ्चालनमा आएसँगै सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि ठूला शहर धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।