(तिलक राज ढुंगाना-तपेन्द्र) लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ४, बलियामा सम्पन्न तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल माध्यमिक विद्यालय बर्दगोरिया ले हात पारेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा नोवेल माविले कृष्ण माध्यमिक विद्यालय बाघमारा लाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो। निर्धारित समयमा दुवै टोलीबीच बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
प्रतियोगिता क्याम्ब्रीज इङ्लिस बोर्डिङ स्कुल, लम्कीचुहा नगरपालिका–४ को आयोजनामा सम्पन्न भएको हो। विद्यालयले आफ्ना पूर्व क्याप्टेन स्वर्गीय आशिष महतरा को स्मृतिमा हरेक वर्ष नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगितामा २४ टिमहरूको सहभागिता रहेको थियो, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको आयोजकले जनाएको छ।
उपाधि विजेता नोवेल मावि बर्दगोरिया ले नगद ३५ हजार १३५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता कृष्ण मावि बाघमारा ले २५ हजार १२५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपाधी विजेता नोवेल माविलाई बर्दगोरियामा बाजागाजासहित स्वागत गरिएको छ ।