कमल शाही। नेपाली कांग्रेसका युवा नेता पृथ्वी विक्रम शाहीले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका केही दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनले वैशाख ८ गते नेपाली कांग्रेस चामुण्डा बिन्द्रासैनी नगर कार्यसमितिलाई सम्बोधन गर्दै वडा सचिव, क्रियाशील सदस्य तथा नेपाल तरुण दल दैलेखको सदस्य पदबाट स्वेच्छिक राजीनामा दिएका थिए।
शाहीले आफ्नो राजीनामापत्रमा नेपाली कांग्रेस आफ्नो लागि “विचार, इतिहास र संस्कारको पाठशाला” रहेको उल्लेख गर्दै पार्टीभित्र देखिएको जडता, सीमित घेराको प्रभाव तथा युवा पुस्ताको भावना र अपेक्षा सम्बोधन हुन नसकेको अवस्थाले आफूलाई गम्भीर बनाएको बताएका छन्।
उनले राजनीतिलाई केवल शक्ति सञ्चयको माध्यम नभई जनविश्वास र परिवर्तनको संवाहक हुनुपर्ने धारणा राख्दै विद्यमान सांगठनिक अवस्था र कार्यशैलीमा बसेर थप योगदान दिन असमर्थ महसुस गरेको जनाएका छन्।
नगर सभापतिमा समेत उम्मेदवारी दिएका शाहीले युवा पुस्तालाई राजनीतिमा जोड्ने, नवीन सोचलाई संस्थागत गर्ने र पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
राजीनामापछि गत वैशाख २२ गते शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका हुन्। उनको प्रवेशसँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।