कैलाली — कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केपी खनालले चिसापानी जंगलाघाट–मङलसेन सडक तथा पुल निर्माणका लागि ५४ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको जानकारी दिएका छन्।
सांसद खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आज उक्त बजेट सुनिश्चित भएको बताएका हुन्। उनका अनुसार यो योजनाले सुदूरपश्चिमका पहाडी र तराई क्षेत्र जोड्ने महत्वपूर्ण सडक पूर्वाधारका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, जिल्ला अस्पताल अछामको भवन निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत ६० करोड रुपैयाँ बजेट व्यवस्था गर्ने प्रक्रिया पनि अगाडि बढाइएको उनले उल्लेख गरेका छन्। अस्पतालको भौतिक पूर्वाधार सुदृढ भएसँगै स्थानीय नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।
सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रको विकासलाई प्राथमिकता दिँदै यस्ता पूर्वाधार योजनाहरू अघि बढाइरहेको जनाइएको छ।