कैलाली, वैशाख ५ । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खादा यकै परिवारका दुई बालकको मृत्यु भएको छ भने आमा र अर्का एक बालक बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जनाले वैशाख ३ गते मरेको कुखुराको मासु खाएका थिए। बिरामी परेकामध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार को उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै २८ वर्षीया राधिका ताम्राकार र उनका ३ वर्षीय छोरा दिपेश ताम्राकार बिरामी अवस्थामा उपचाररत रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना बिहीबार भए पनि शुक्रबार मात्रै प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी लगिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले मरेको कुखुरा स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको प्रहरीले जनाएको छ। सम्बन्धित फार्म सञ्चालकलाई बयानका लागि बोलाइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ।