डोटी — डोटीको जोरायल गाउँपालिका–२ पतडामा श्रद्धाञ्जली सभा सहित राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रम संस्थाको सदस्य संरक्षण कोषमार्फत सञ्चालन गरिएको हो।

सहकारीले सञ्चालन गर्दै आएको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत गत पुस २० गते निधन भएकी सदस्य दुर्गा देवी कामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो। यस क्रममा सहकारीको सहजपुर शाखाले शुक्रबार आयोजित कार्यक्रममा मृतकका श्रीमान् राजन विकलाई ३ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ।
कार्यक्रम किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नीति तथा अनुपालन विभाग प्रमुख दीपकराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तालिम विभाग प्रमुख नारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।
उक्त कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहजपुर शाखा प्रमुख दिनेशराज न्यौपानेले गर्नुभएको थियो।