कमल शाही। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगर्ने कम्पनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा सम्झौता भई निर्माणाधीन कर्णाली लिफ्टिङ खानेपानी आयोजना तथा १५ शैयाको बिन्द्रासैनी अस्पताल निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै सम्बन्धित निर्माण कम्पनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको हो।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै
खानेपानी आयोजना अलपत्र पार्ने नागार्जुन टिडीआर जेभी, काठमाडौं र अस्पताल निर्माणमा सम्झौता अनुसार काम नगर्ने विकास टिडीआर शिवा जेभी, नयाँ बानेश्वर काठमाडौं लाई आवश्यक स्पष्टीकरणसहित १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीका अनुसार सम्झौता बमोजिम तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि सम्बन्धित कम्पनीहरूले चासो नदेखाएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
नगरपालिकाले ठेक्का नतोडिनुपर्ने कुनै मनासिब कारण भएमा १५ दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ र ठेक्का सम्झौताका सर्त अनुसार ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने लगायत थप कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।