जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया, बाराले भदौ महिनाको ‘बेष्ट ट्राफिक पुलिस अफ द मन्थ’ अवार्डद्वारा सम्मान गरेको छ।
निरीक्षक जोशीले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनअनुसार इमानदार, बफादार, कर्तव्यनिष्ठ, अनुशासित तथा लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। विशेषगरी हालैको जेन–जि आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना, सवारीसाधन तथा मातहत प्रहरीलाई सुरक्षित राख्न उहाँले देखाएको नेतृत्व र व्यवस्थापन क्षमता उल्लेखनीय रहेको बताइएको छ।
आन्दोलन अवधिभर सम्भावित क्षति न्यूनीकरणका लागि मातहत प्रहरीलाई प्रभावकारी ढंगले परिचालन गरी महत्वपूर्ण योगदान पुर्याएको उच्च मूल्याङ्कन गर्दै जोशीलाई नगद रु. १,३०० (अक्षरेपी तेह्र सय रुपैयाँ मात्र) सहित सम्मान गरिएको हो।