लोकतन्त्र दिवसको विडम्बना : जनताको आवाज सुन्ने थलो नै हरायो

लम्की/बैशाख ११:- आज बैशाख ११, लोकतन्त्र दिवस । २०६२/६३ को जनआन्दोलनपछि हामीले यो दिवस १९औँ पटक मनाइरहेका छौँ । तर, यो उल्लासको दिनमा जनताको मन भने भारी छ । जसका लागि हिजो ज्यानको बाजी राखेर लडाइँ लडियो, त्यही लोकतन्त्रमा आफ्ना कुरा राख्ने थलो हराएको पीडा उनीहरूले पोखेका छन् । जनताको आवाज सुन्ने महत्वपूर्ण मञ्च मानिएको सार्वजनिक सुनुवाइ पालिकाले गर्न छाडेपछि स्थानीयमा निराशा छाएको छ । यो विडम्बनाले लोकतन्त्रको मर्ममाथि नै प्रश्न उठाएको छ ।

__________ विज्ञापन____________

सशस्त्र आन्दोलनको क्रममा ढाडमा गोली लाग्दा २१ वर्षदेखि ह्विलचियरमा बस्दै आएका लम्कीचुहा–२ का ४७ वर्षीय प्रेमबहादुर बयक आन्दोलनका दिन सम्झिँदै भावुक बने । ‘हामीले लोकतन्त्रका लागि हत्केलामा ज्यान राखेर लड्यौँ । जनताको दबिएको आवाज बाहिर ल्याउन रातदिन संघर्ष गर्यौँ । तर, आज त्यही व्यवस्थामा हाम्रा कुरा सुन्ने ठाउँ छैन । सार्वजनिक सुनुवाइ भन्छन्, तर त्यो कागजमा मात्र छ । हाम्रा दुख कसले सुन्ने?” उनले भने, “हामीले सपना देखेका थियौँ, जनताको आवाज सुनिने छन् तर, आज हामी उपेक्षित छौँ।’ बयकले थपे, ‘सरकार बिचौलियाको कब्जामा छ । ऐन–नियमको पालना गर्नुको सट्टा हाम्रा कुरालाई दबाउन उद्धत छ।’

__________ विज्ञापन____________

लम्कीचुहा नगरपालिकाले विगत दुई वर्षदेखि सार्वजनिक सुनुवाइ सञ्चालन गरेको छैन । जनप्रतिनिधिसँग प्रत्यक्ष कुरा राख्ने र गुनासो सुनाउने थलो नहुँदा स्थानीय अलमलमा परेका छन् । लम्कीचुहा–९, वनवर्षाका २८ वर्षीय प्रदीप चौधरी भन्छन्, ‘हाम्रो गाउँमा खानेपानीको ठूलो समस्या छ । गर्मी बढेसँगै नल्कामा पानी सुक्छ । पालिकामा गुनासो राख्न जाँदा जनप्रतिनिधि भेटिँदैनन् । सार्वजनिक सुनुवाइ हुन्छ कि भनेर कुरेका थियौँ, तर त्यो पनि भएन । अब हाम्रा कुरा कहाँ राख्ने ?’

__________ विज्ञापन____________

लम्कीचुहा नगरपालिकाका सूचना अधिकृत भानुभक्त उपाध्यायले भने सार्वजनिक सुनुवाइबारे आफूलाई जानकारी नभएको बताए । ‘मलाई यो विषयमा केही थाहा छैन। सुनुवाइ हुने वा नहुने बारे मलाई कुनै जानकारी दिइएको छैन,’ उनले भने ।

सार्वजनिक सुनुवाइले स्थानीय तहमा नीति निर्माण, बजेट विनियोजन र सेवा प्रवाहमा नागरिकको सहभागिता सुनिश्चित गर्छ। यसले जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना कामको प्रतिवेदन जनतासामु राख्ने र जवाफदेही बनाउने अवसर दिन्छ । शिक्षाविद् बद्रीप्रसाद लम्साल भन्छन्, ‘सार्वजनिक सुनुवाइले शासनमा पारदर्शिता ल्याउँछ । जनताले सिधै प्रश्न गर्न सक्छन्, जसले नीति र कार्यान्वयनमा सुधार हुन्छ । यो लोकतन्त्रको ‘जनताको शासन’ भन्ने मान्यतालाई व्यवहारमा उतार्ने अभ्यास हो।’

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, पालिकाले वर्षमा कम्तीमा दुई पटक सार्वजनिक सुनुवाइ गर्नुपर्छ । तर, लम्कीचुहामा यो कानुनी दायित्व पनि औपचारिकतामा सीमित भएको छ ।

लोकतन्त्र दिवसले लम्कीचुहाका जनतामा आशासँगै प्रश्न पनि उब्जाएको छ । सशस्त्र आन्दोलनका सहभागीहरूले आफ्नो बलिदानको मूल्य खोजिरहेका छन् । सार्वजनिक सुनुवाइलाई नियमित र प्रभावकारी बनाउन पालिकाले ठोस कदम चाल्नुपर्छ । हरेक वडामा सुनुवाइको मिति तोकेर सूचना दिने र गुनासा समाधान गर्ने प्रणाली बनाउन जरुरी छ । कागजी प्रतिबद्धताले मात्र पुग्दैन, कार्यान्वयनमा जोड दिएर पालिकाले जनताको विश्वास जित्नुपर्छ। तब मात्र लोकतन्त्र दिवसको सार्थकता स्थानीय स्तरमा अनुभव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी