कैलाली । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–६, पृथ्वीपुर चौराहामा जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसन–२०८३ आयोजना हुने भएको छ।
कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लिको आयोजनामा आगामी असोज २५ गते घटस्थापनाको दिन प्रतियोगिता सञ्चालन हुने भएको हो।
जिल्लाभित्र रहेका नृत्य प्रतिभाहरूलाई आफ्नो कला, क्षमता तथा सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विशेषगरी नृत्यमा रुचि भएका युवायुवती तथा नयाँ प्रतिभालाई कला क्षेत्रमा अघि बढ्न प्रोत्साहन गर्ने लक्ष्य आयोजकको रहेको छ।
पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा नृत्यप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको अवस्थामा यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। प्रतियोगितामार्फत नयाँ प्रतिभाको पहिचान, आत्मविश्वास अभिवृद्धि तथा उनीहरूलाई कला क्षेत्रमा अघि बढ्ने अवसर प्रदान गरिने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि असोज ५ गतेदेखि नाम दर्ता खुला गरिएको छ। आयोजकका अनुसार सामूहिक नृत्यतर्फ दर्ता शुल्क रु. १,००५ र एकल नृत्यतर्फ रु. ५०५ तोकिएको छ।
प्रतियोगितामा सामूहिक नृत्यतर्फ प्रथम हुनेलाई रु. ११,१११ नगदसहित प्रमाणपत्र, दोस्रोलाई रु. ७,१११ नगदसहित प्रमाणपत्र तथा तेस्रोलाई रु. ५,५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, एकल नृत्यतर्फ प्रथम हुनेलाई रु. ९,९९९ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजकले जिल्लाभर रहेका नृत्य प्रतिभाहरूलाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न तथा नृत्यप्रेमी, कलाकार, अभिभावक र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको शोभा बढाउन आग्रह गरेको छ।





