कमल शाही दैलेख, जेठ ५ गते। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ६, तिलुखानास्थित श्री कालिका माध्यमिक विद्यालय नेत्रपानी को ३८ औँ वार्षिक उत्सव तथा विद्यालयका संस्थापक स्वर्गीय सनद बहादुर शाहीको शालिक अनावरण कार्यक्रम हिजो जेठ ४ गते भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वार्षिक उत्सवसँगै संस्थापक स्वर्गीय शाहीको शिक्षा क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाँको शालिक अनावरण गरिएको हो।
कार्यक्रममा वक्ताहरूले विद्यालय स्थापना तथा ग्रामीण क्षेत्रमा शिक्षा विकासका लागि स्वर्गीय शाहीले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनीहरूले उहाँको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन र विद्यार्थीको भविष्य निर्माणमा संस्था निरन्तर क्रियाशील रहेको बताएका छन्। कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण, आगामी योजना तथा शैक्षिक उपलब्धिबारे पनि जानकारी गराइएको थियो।
वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, कविता तथा अन्य प्रतिभामूलक प्रस्तुति प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, विद्यालयको विकास तथा शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। साथै शालिक निर्माणमा आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरूलाई सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ। आर्थिक सहयोग गर्ने दाताहरूको नाम शिलालेखमा उल्लेख गरिएको छ।
विद्यालय प्रशासनका अनुसार आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक विकासलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने योजना रहेको छ। ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्दै आएको यस विद्यालयले स्थानीय तहमा शैक्षिक जागरण फैलाउन महत्वपूर्ण योगदान दिँदै आएको स्थानीयवासीहरूको भनाइ रहेको छ।