कमल शाही दैलेख, वैशाख ३१ गते । दैलेख को चामुण्डाबिन्द्रासैनी नगरपालिका ०५ बस्ताकोटस्थित श्री जनता माध्यमिक विद्यालयका बस्ताकोटका विज्ञान शिक्षक विशाल विक्रम सावदले फेल भएका विद्यार्थीलाई जबर्जस्ती पास गराउन दबाब आएको आरोप लगाउँदै पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानाध्यापकलाई बुझाएको राजीनामा पत्रमार्फत सावदले विद्यालय र पालिकाको वातावरणमा शिक्षकको आत्मसम्मानमाथि आघात पुग्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ । उहाँले वर्षभरि मेहनतपूर्वक अध्यापन गर्दा पनि वास्तविक मूल्यांकनको आधारमा फेल भएका विद्यार्थीलाई तत्काल पास गराउन दबाब दिइएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
राजीनामा पत्रमा उहाँले “म अभाव सहन्छु, तनाव होइन भन्ने भावुक अभिव्यक्ति राख्दै नैतिकताको आधारमा पद त्याग गर्ने निर्णय लिनुपरेको उल्लेख गर्नुभएको छ । उहाँले शैक्षिक गुणस्तर, शिक्षकको मर्यादा र विद्यार्थीको वास्तविक मूल्यांकनमाथि हस्तक्षेप हुनु दुःखद भएको पनि जनाउनुभएको छ ।
संघीय अनुदानअन्तर्गत करार सेवामा कार्यरत सावद २०८० साल मंसिरदेखि उक्त विद्यालयमा विज्ञान विषय अध्यापन गराउँदै आउनुभएको थियो । छोटो अवधिमै विद्यार्थीमाझ लोकप्रिय बनेका उहाँको राजीनामाले विद्यालय र स्थानीय तहमा शैक्षिक बहससमेत सुरु भएको छ ।
शिक्षकले सार्वजनिक रूपमा नै दबाबका कारण पद त्याग गरेको विषय बाहिरिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । कतिपयले शिक्षकको नैतिक अडानको प्रशंसा गरेका छन् भने केहीले शैक्षिक क्षेत्रमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप बढ्दै गएको टिप्पणी गरेका छन् ।
यस घटनाले विद्यालय शिक्षा, नतिजा प्रकाशन, शिक्षकको स्वतन्त्रता र स्थानीय तहको भूमिकाबारे पुनः प्रश्न उठाएको छ ।