कालिकोट जिल्लाको विकट पलाता गाउँमा सामान्य परिवारमा जन्मिनुभएका महेन्द्र प्याकुरेल आज संघर्ष, मेहनत र आत्मविश्वासको जीवित उदाहरण बन्नुभएको छ। ४ बहिनी र २ भाइमध्ये जेठा सन्तानका रूपमा जन्मिनुभएका उहाँको बाल्यकाल सहज थिएन। उहाँ केवल ८ वर्षको हुँदा र भाइ २ वर्षका मात्र हुँदा झाडापखालाका कारण ४३ वर्षकै उमेरमा बुवाको निधन भयो। त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी सानै काँधमा आइपुग्यो।
घरको अभाव, परिवारको पीडा र भविष्यप्रतिको जिम्मेवारी बोकेर उहाँ ११ वर्षको उमेरमै रोजगारीको खोजीमा भारत पुग्नुभयो। दार्जिलिङदेखि अरुणाञ्चल, हरियाणा, हिमाञ्चल प्रदेश हुँदै उत्तराखण्डसम्मका विभिन्न ठाउँमा भारी बोकेर दुःख र संघर्षसँग जुध्दै जीवन यात्रा अघि बढाउनुभयो। अरू बालबालिका खेलकुद र पढाइमा व्यस्त हुने उमेरमा उहाँ भने परिवारको आधार बन्न संघर्षरत हुनुहुन्थ्यो।
वि.सं. २०७१ सालमा सराइँ–बसाइ गरी कैलालीको लम्कीचुहा नगरपालिकामा बसोबास सुरु गर्नुभएका प्याकुरेलले निरन्तर मेहनत, इमानदारी र आत्मविश्वासलाई आफ्नो मुख्य शक्ति बनाउनुभयो। वर्षौँको कठिन परिश्रमपछि वि.सं. २०७६ सालमा “खापर मष्टा सप्लायर्स” तथा “खापर मष्टा गार्मेन्ट उद्योग” स्थापना गर्न सफल हुनुभयो। आज उहाँका उद्योगमार्फत दर्जनौँ युवाले स्वदेशमै रोजगारी पाएका छन्।
दुःख, अभाव र जिम्मेवारीसँग कहिल्यै हार नमान्ने महेन्द्र प्याकुरेल आज केवल २९ वर्षको उमेरमै नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा पुग्न सफल हुनुभएको छ। उहाँको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, संघर्ष गरिरहेका हजारौँ युवाका लागि प्रेरणा, साहस र आशाको स्रोत बनेको छ।
आत्मबल, इमानदारी र निरन्तर मेहनतले जीवन परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश उहाँको जीवन यात्राले स्पष्ट पारेको छ। संघर्षलाई अवसरमा बदल्दै सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उहाँ आज समाजमा परिचित हुनुहुन्छ।
नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्य पदमा चयन हुनुभएकोमा आदरणीय महेन्द्र प्याकुरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको नेतृत्व, दूरदृष्टि र कर्मशीलताले उद्योगी–व्यवसायीहरूको हकहित, सम्मान र आवाजलाई अझ सशक्त बनाउँदै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।