कैलाली निर्वाचन क्षेत्र नं. २ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ। विजय बहादुर स्वाँर लाई विजयी गराउने उद्देश्यसहित नेपाली कांग्रेस ले बर्दगोरिया गाउँपालिका वडा नं. ५ र ६ मा मतदाता शिक्षा अभियान सञ्चालन गरेको हो।

कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने सही तरिका, स्वस्तिक छाप लगाउने विधि तथा बदर मत घटाउने उपायबारे विस्तृत जानकारी दिइँदै आएको छ। मतदातालाई आफ्नो मत सही तरिकाले प्रयोग गर्न प्रेरित गर्दै सचेतनामूलक प्रशिक्षण, घरदैलो भेटघाट र अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ।
आयोजकका अनुसार ग्रामीण क्षेत्रका मतदातालाई लक्षित गर्दै सहज र सरल भाषामा निर्वाचनसम्बन्धी जानकारी प्रवाह गरिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा पहिलो पटक मतदान गर्न लागेका युवायुवतीलाई केन्द्रमा राखेर प्रशिक्षण दिइएको बताइएको छ।
स्थानीय बासिन्दाले पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। सही जानकारी पाएपछि मतदानमा उत्साह बढेको उनीहरूको भनाइ छ। अभियानलाई अझ सशक्त बनाउँदै अन्य वडाहरूमा समेत विस्तार गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा यस किसिमका कार्यक्रमले मतदातालाई सचेत र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।