लम्की, कैलाली | साउन २० कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आधुनिक बिउ प्रशोधन तथा भण्डारण उद्योग सञ्चालनमा ल्याएको छ। उद्योगको बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ले लम्कीचुहा नगरपालिका–४ मा आयोजित एक विशेष समारोहबीच औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सहकारीमार्फत किसानलाई बिउ उत्पादनमा प्रोत्साहन, प्रविधि र आवश्यक सहयोग उपलब्ध गराउनु कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले गुणस्तरीय बिउको उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित बनाउन उद्योगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट सुदूरपश्चिमका हजारौं किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहकारीका महाप्रबन्धक डम्बर बहादुर शाह ले उद्योग सञ्चालनसँगै किसानहरूले धान, गहुँ, मकै, तोरीलगायत विभिन्न बालीका उन्नत जातका बिउ स्थानीय स्तरमै ग्रेडिङ, प्रशोधन, परीक्षण तथा प्याकेजिङ गर्न सक्ने जानकारी दिनुभयो।

उहाँका अनुसार किसानलाई सहज, सर्वसुलभ र उचित मूल्यमा गुणस्तरीय बिउ उपलब्ध गराउनुका साथै किसानले उत्पादन गरेका बिउ तथा कृषि उपज उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो।

रु. १ करोड ४१ लाखभन्दा बढी लगानी
उद्योग स्थापना गर्न किसान बहुउद्देश्यीय सहकारी संस्था, लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारबीच वित्तीय साझेदारी गरिएको छ। हालसम्म उद्योगमा रु. १ करोड ४१ लाख ३० हजार लगानी भइसकेको छ।
उद्योग भवन निर्माणका लागि लम्कीचुहा नगरपालिकाले रु. २५ लाख आर्थिक सहयोग गरेको छ भने आवश्यक मेसिनरी खरिदका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु. १७ लाख १५ हजार अनुदान उपलब्ध गराएको संस्थाले जनाएको छ।

१४० बिघामा धानको मूल बिउ उत्पादन सुरु
उद्योग सञ्चालनसँगै बिउ उत्पादन विस्तार गर्न सहकारीले ४१ जना कृषक तथा एक कृषि सहकारी संस्था लाई आवश्यक स्रोत–साधन उपलब्ध गराएको छ। सहकारीको सहकार्यमा हाल १४० बिघा क्षेत्रफलमा धानको मूल बिउ उत्पादन सुरु भइसकेको छ।
उद्योग सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशका किसानले बिउका लागि अन्य जिल्लामा निर्भर हुनुपर्ने अवस्था अन्त्य हुने, स्थानीय स्तरमै गुणस्तरीय बिउ उपलब्ध हुने, कृषि उत्पादनमा वृद्धि हुने तथा रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

कृषि उत्पादनमा आत्मनिर्भरता र किसानको आय वृद्धि गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो उद्योगले सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।






