राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उनले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । उनले वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने बताइन् ।
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको भनाइः
पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । सांसदलाई भेट्न पनि मन्त्रीहरुले आनाकानी गर्ने । मन्त्रीहरुले भेट्छन् चाहिँ कसलाई ? धेरै वटा मन्त्रीहरुलाई भेट्न विषयवस्तु लिएर गयो । जनताहरुका मुद्दाहरु लिएर गयो । भेट्न समय पाइदैनँ ।
प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेटन्को लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरु ? राजीनामा दिए हुन्छ । संघीय संरचनामा प्रदेश भएको हुनाले सहजीकरण हुन्छ भनेर त यो प्रदेशको संरचना ल्याइएको त होला नि । प्रदेशको संरचना भएर झन धेरै अप्ठ्यारो ।
आफ्नै ठाउँको काम गर्न पनि चारतिर धाउनुपर्ने भयो । कसले गर्ने हो ? कसैको जिम्मेवारी भएन । यस्तो खालको प्रदेशको संरचना चाहिएन । सुधार्नुपर्छ । यसको मोडेलको बारेमा छलफल गर्नुपर्यो । यस्तो मन्त्रीहरुको काम छैन । यस्तो सरकारको काम छैन । सरकारको काम शुन्य भयो । लगभग लगभग यो सरकार असफल भयो । सरकार असफल हो काम गर्न नसक्ने भए राजीनामा दिएर गए हुन्छ ।
स्रोत : सिम्रिक आवाज