कमल शाही दैलेख । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा महिला तथा पुरुष भलिबल खेल प्रतियोगिता सुरु भएको छ। युवाहरूको मागअनुसार हरेक वर्ष नियमित रूपमा खेलकुद कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति अनुसार “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ पालिकास्तरीय उक्त प्रतियोगिता सञ्चालन गरिएको हो।
नगरपालिका भित्रका सबै ९ वटै वडाका महिला र पुरुष खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताको औपचारिक उद्घाटन वडा नं. ८ स्थित श्री बिन्द्रासैनी माध्यमिक विद्यालयको खेलमैदानमा एक औपचारिक समारोहका बीच सम्पन्न गरिएको हो।
कार्यक्रममा नगरपालिका भित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख गणेश कुमार शाहीले खेलकुद मेहनत, अनुशासन र लगनशीलताको प्रतिक भएको बताउँदै समर्पणका साथ खेलमा लागेको युवाको भविष्य उज्ज्वल हुने धारणा व्यक्त गर्नुभयो। उहाँले खेलकुदले राष्ट्रको पहिचान र स्वास्थ्य दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभयो।
त्यस्तै नगरपालिका उप–प्रमुख मनसरा कुमारी शर्माले राष्ट्र निर्माणको हरेक अभियानमा युवाहरूको सहभागिता अपरिहार्य रहेको बताउँदै खेलमा ईमानदारी र समावेशीताको भावना आवश्यक रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले खेलकुदले राष्ट्र र नागरिक दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भन्दै नगरपालिकाको इतिहासमा यस प्रतियोगिताले नयाँ अध्याय लेख्ने विश्वास व्यक्त गर्नुभयो।
तीन दिनसम्म सञ्चालन हुने उक्त खेलकुद प्रतियोगितामा नगर क्षेत्रका ९ वटा पुरुष टोली र ४ वटा महिला टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिता चामुण्डाबिन्द्रासैनी खेलकुद विकास समितिका अध्यक्ष दशरथ शाहीको अध्यक्षतामा सञ्चालन भइरहेको छ।