बर्दगोरिया । विद्यार्थीहरूले पढाइमा ध्यान दिँदाको महत्त्व झल्काउने गीत “पढाइ छुट्यो” बुधवार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सो गीतमा कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको वसन्त मुरारी नमुना विद्यालयका शिक्षक विद्यार्थीहरूले अभिनय गरेका छन् ।
६०औ राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सार्वजनिक गरिएको म्युजिक भिडियोमा दुई विद्यार्थी बिचको प्रेम, पश्चात्ताप र सफलतालाई सहज रूपमा झल्काइएको छ । प्रेम सम्बन्धमा परि पढाइलाई बेवास्ता गर्ने र बिग्रने अवस्थामा पुगेका एक जोडी विद्यार्थीलाई विद्यालय प्रशासनले अभिभावक सहित सम्झाई बुझाई गरेको कथामा देखिन्छ । त्यसपश्चात् उनीहरूले पढाइमा ध्यान दिई जीवन नै सफल भएको भिडियोबाट बुझ्न सकिन्छ ।
गीतको सृजना सोही विद्यालयका प्रधानाध्यापक ताराप्रसाद जोशीले गरेका छन् भने सोही विद्यालयका शिक्षक परशु केसीले शब्दमा सङ्गीत भरेका छन् । विद्यालयका विद्यार्थी आयुष सुनार, मेनुका बम, नमिता जोशी र शिक्षक खकेन्द्र प्रसाद आचार्यले सङ्गीतमा स्वर भरेका छ ।
म्युजिक भिडियोमा विद्यार्थी दीपेन्द्र नेपाली र कन्चन रावललाई मुख्य भूमिकाका देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन राजेश तुलाचनले गरेका छन् भने कोरियोग्राफी हितेश ताम्राकारले गरेका छन् ।
विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्दै सिक्ने र सिकाउने वातावरण तयार गर्न आफूहरूले म्युजिक भिडियो निर्माण गरेको सर्जक तथा प्रधानाध्यापक तारा प्रसाद जोशीले बताएका छन् ।
“हामीलाई विश्वास छ, घरपरिवारले शिक्षकहरूले भनेको नमानेर पढाइमा ध्यान नदिने भाइबहिनीहरूले यो भिडियो हेरेर पक्कै आफूमा सुधार गर्नु हुनेछ ।” प्रधानाध्यापक जोशीले भने ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनॠषी आचार्यले विद्यालयले निर्माण गरेको म्युजिक भिडियो विद्यार्थी तथा अभिभावकका लागि लाभदायक हुने विश्वास व्यक्त गरे ।
यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले नमुना विद्यालयले साँच्चै नमुना कामको थालनी गरेको बताए । “म्युजिक भिडियो मार्फत शिक्षाको महत्त्व झल्काउने तपाईँहरूको प्रयास सराहनीय छ । यसरी नै विभिन्न माध्यबाट शिक्षाको गुणस्तर सुधारमा सबै जना लाग्नु पर्छ ।” उनले भने । कार्यक्रममा म्युजिक भिडियोका कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको छ ।