साउन १९, बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा रहेको श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरले संस्थालाई आवश्यक पर्ने भवन निर्माणको लागि प्रकृया अनुसार पालिका बाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
यस्तै विशिष्ट अतिथि गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले विद्युत चुहावट रोकथाम सम्बन्धी विविध विषयमा उपस्थित सेयर सदस्यहरूलाई सुझाव दिँदै आगामी दिनमा आफूले आफ्नो तर्फबाट सक्ने सहयोग लिने र दिने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष श्याम नारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष सीताराम चौधरीले स्वागत मन्तव्य बाट सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष ईश्वरी चौधरीले प्रस्तुत गरेकी आर्थिक वर्ष २०८०/०८१ को कुल १८ लाख ५५ हजार ५ सय ५७ रुपैयाँ ६१ पैसा बराबरको आयव्य विवरण लाई सबै सेयर सदस्यहरूले एकमुष्ट ताली बजाएर अनुमोदन गरेका हुन् ।
यसैगरी विद्युत सहकारीमा नियमित विद्युत महसुल बुझाउने उत्कृष्ट ३ जना ग्राहकलाई प्रथम राजेश चौधरी द्वितीय सुमन चौधरी र तृतीय हेमराज चौधरीलाई प्रोत्साहन स्वरूप सिएफएल बल्ब यस्तै पारस आधारभूत विद्यालय जगतपुरका २०८० सालमा उत्कृष्ट नतिजा ल्याउने प्रथम द्वितीय र तृतीय ३ जना विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कारमा कपी, सिसाकलम, लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा अनाथ बालिका रिया चौधरीलाई पनि प्रोत्साहन सहयोग बाफत संस्थाका अध्यक्ष श्याम नारायण चौधरीले व्यतिगत खर्चमा झोला, सिसाकलम लागतका शैक्षिक सामग्री वितरण गरेका हुन् । कार्यक्रमको सहजीकरण हरेन्द्र चौधरीले गरेका थिए ।